06/07/2026 | Press release | Distributed by Public on 06/07/2026 09:38
सम्पूर्ण पत्रकार मित्रहरु,
नमस्कार
भारतका विदेशमन्त्री महामहिम डा. एस. जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा भारतको औपचारिक भ्रमण सम्पन्न गरी म आज २०८३ जेठ २४ (७ जुन २०२६) काठमाडौँ फर्केको छु।
१. नियमित उच्चस्तरीय भ्रमण आदान-प्रदानको निरन्तरताका रूपमा रहेको यस भ्रमणले नेपाल र भारतबीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको मैले विश्वास लिएको छु।
२. भ्रमणका क्रममा ६ जुन २०२६ मा नयाँ दिल्लीमा भारतका विदेशमन्त्री महामहिम डा. एस. जयशंकरसँग औपचारिक भेट तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भयो। दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल-भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा व्यापक तथा उपलब्धिमूलक छलफल भयो।
३. वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, र खेलकूदलगायत जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भयो। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छौं। साथै, विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदानप्रदान गरियो।
४. हामीले द्विपक्षीय परियोजना तथा सहकार्यका पहलहरूको प्रगतिको समीक्षा गर्नुका साथै तिनलाई थप प्रभावकारी बनाउने उपायहरूबारे महत्त्वपूर्ण छलफल गर्यौं।
५. बैठकका क्रममा ३ वटा संयुक्त घोषणाहरू गर्यौं:
(क) जुन २०२३ मा हस्ताक्षर गरिएको NCHL र NPCI बीचको समझदारी पत्र अन्तर्गत अन्तरदेशीय भुक्तानी P2P लेनदेनको सञ्चालन (P2P Cross Border Payment Transaction)।
(ख) भारतको विकास सहयोगमा नेपालमा भूकम्पपछि पुनर्निर्माण गरिएका परियोजनाहरुको हस्तान्तरण। (Handing Over of 72 health Sector and 12 cultural sector post-earthquake reconstruction projects in Nepal built with India's development assistance)
(ग) Voice First भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधारको सह-निर्माणको लागि काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स सेन्टर र डिजिटल इन्डिया भाशिनी डिभिजन बीच समझदारी पत्र।
६. भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार श्री अजित डोभलसँग समेत छलफल भयो। उक्त बैठकमा नेपाल र भारतका साझा सुरक्षा चासो, सीमा व्यवस्थापन तथा दुई देशबीचको रणनीतिक साझेदारीका विभिन्न पक्षहरूमा विचार आदान प्रदान भयो।
७. इन्डिया फाउन्डेसनमा सम्बोधन: भ्रमणका क्रममा मैले इन्डिया फाउन्डेसन (@indfoundation) द्वारा नयाँ दिल्लीमा आयोजित एक विशेष कार्यक्रममा प्रबुद्ध व्यक्तित्वहरूको समूहलाई सम्बोधन गर्ने अवसर पाएँ। उक्त कार्यक्रममा मैले नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरूका बारेमा प्रकाश पार्दै सहभागीहरूसँग ऊर्जा, व्यापार, सीमालगायतका साझा चासोका विषयहरूमा केन्द्रित रही अन्तरक्रिया समेत गरेँ।
८. आज बिहान नेपाली राजदूतावास, नयाँ दिल्लीको भ्रमण गरी दूतावासका पछिल्ला कामकारबाहीबारे दूतावास परिवारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै भारतमा नेपाल र नेपालीको हितको रक्षाका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिएको छु। साथै, दूतावासमा आयोजित मिडिया अन्तरक्रिया कार्यक्रममा भारतमा रहेका सञ्चारमाध्यमसँग छलफल गरी हाम्रा प्राथमिकताबारे जानकारी गराएको छु|
९. यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबीचको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार गरेको मैले महसुस गरेको छु। हाम्रो सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढङ्गले अभिव्यक्त गर्ने अवसर प्राप्त भएको छ। व्यापार तथा लगानी विस्तार गर्ने, ऊर्जा सहकार्य सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्ध अझ सशक्त बनाउने विषयहरूमा ठोस आधार तयार पारेको छ। क्षेत्रीय स्थायित्व, आपूर्ति शृङ्खला सुरक्षा तथा ऊर्जा साझेदारी जस्ता समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत धारणा आदानप्रदान गरिएको छ।
१०. मन्त्रालय तथा नियोगबाट जारी प्रेस वक्तव्य, सामाजिक सञ्जाल एक्स र फेसबुकका पोस्टहरूलगायत विभिन्न माध्यमबाट यससम्बन्धी थप विवरणहरू प्रवाह गरिएको छ। यी महत्त्वपूर्ण विषयहरूमा निरन्तर रूपमा सकारात्मक र रचनात्मक समाचार सम्प्रेषण गर्नुभएकोमा यहाँहरू सबैलाई म हार्दिक धन्यवाद व्यक्त गर्दछु।