03/11/2026 | Press release | Distributed by Public on 03/11/2026 11:35
पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि परराष्ट्र मन्त्रालय र त्यहाँस्थित नेपाली नियोगहरू निरन्तर सक्रिय रहेका छन्। उक्त क्षेत्रमा रहेका नेपाली नियोगहरूले समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय गरिरहेका छन् ।
१. यसै सन्दर्भमा आज माननीय परराष्ट्र मन्त्री श्री बालानन्द शर्मा र परराष्ट्र सचिव श्री अमृत बहादुर राईको समुपस्थितिमा पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम, त्यहाँ रहेका नेपाली नागरिकहरूको वर्तमान अवस्था र नेपाल सरकारको पहलका विषयमा प्रेस ब्रिफिङ कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै माननीय परराष्ट्र मन्त्री र परराष्ट्र सचिवले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न भइरहेका प्रयासहरू तथा आवश्यकता अनुसार स्वदेश फिर्ती सहजीकरण गर्ने लगायतका विषयमा सरकारको निरन्तर सक्रियताबारे प्रकाश पार्नुभयो।
२. उक्त प्रेस ब्रिफिङका अवसरमा संयुक्त राष्ट्रसंघमा नेपालले अघि बढाएको International Wellness Day स्थापना सम्बन्धी सफल पहलका विषयमा पनि जानकारी गराइएको थियो। नेपालको सौम्य शक्तिको रूपमा रहेको ध्यान, योग, आरोग्यता समेत समेटिने Wellness Tourism लाई समेत सघन रूपमा प्रचार गर्न सघाउ पुग्ने ठानिएको International Wellness Day स्थापना सम्बन्धी नेपालको प्रस्ताव संयुक्त राष्ट्रसंघ महासभाबाट स्वीकृत भई हरेक वर्ष १५ अप्रिललाई International Wellness Day का रूपमा मनाउने निर्णय भएको छ । यसलाई नेपालको महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ।
३. परराष्ट्र सचिव श्री अमृत बहादुर राईको संयोजकत्वमा गठित Emergency Response Team (ERT) को हिजो सम्पन्न दोस्रो बैठकको निर्णय अनुसार समस्यामा परेका नेपालीहरूसँग इमेल, फोन वा अन्य उपयुक्त माध्यमबाट सम्पर्क गर्न, मनोबल बढाउन र उनीहरूको प्रतिक्रिया लिएर प्रतिवेदन गर्न पश्चिम एसियास्थित सबै नियोगहरूलाई निर्देशन दिइएको छ ।
४. यस विषम परिस्थितिमा पश्चिम एशिया क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकहरूलाई अत्यन्त संयमित, सचेत र सजग रहन र कानूनविपरीत कुनै किसिमका फोटो, भिडियो तथा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदान-प्रदान गर्ने कार्य नगर्नु हुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा अनुरोध गर्दछ।
५. कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आज साँझसम्म ६५,२८५ जना नेपाली नागरिकहरूले आफ्नो विवरण दर्ता गरिसक्नुभएको छ। त्यसरी दर्ता भएका विवरणहरू अध्ययन गरी आवश्यकता अनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
६. प्रभावित क्षेत्रमा रहनुभएका कुनै नेपाली नागरिकहरूलाई कुनै समस्या आइपरेमा मन्त्रालयको आपतकाल नियन्त्रण कक्ष (Emergency Control Room) का टेलिफोन नम्बरहरू वा इमेल र सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमा तुरुन्त सम्पर्क गर्न सक्नुहुनेछ।
परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८२ फागुन २७