Ministry of Foreign Affairs of Nepal

03/12/2026 | Press release | Distributed by Public on 03/12/2026 08:59

Press Release-Daily Updates on Situation in West Asia and Security of Nepali Nationals

पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि परराष्ट्र मन्त्रालय र त्यहाँस्थित नेपाली नियोगहरू निरन्तर सक्रिय रहेका छन्। उक्त क्षेत्रमा रहेका नेपाली नियोगहरूले समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय गरिरहेका छन् ।


१. यसै सन्दर्भमा Emergency Response Team को दोस्रो बैठकको निर्णय अनुसार पश्चिम एसिया तथा अफ्रिकास्थित नेपाली नियोगहरु र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरु तथा नेपाली समुदाय (Nepali Diaspora) द्वारा स्थापित तथा सञ्चालित विभिन्न संघसंस्थाहरुबीच आपतकालीन समन्वय र सहकार्यका लागि प्रत्येक नियोगका उपनियोग प्रमुखको संयोजकत्वमा Rapid Response Taskforce गठन गर्न निर्देशन दिइएको छ ।

२. कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आज साँझसम्म ६६७२१ जना नेपाली नागरिकहरूले आफ्नो विवरण दर्ता गरिसक्नुभएको छ। त्यसरी दर्ता भएका विवरणहरू अध्ययन गरी आवश्यकता अनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ । साथै, यो दर्ता प्रणालीमा प्रविष्ट भएको विवरण जुनसुकै परिस्थितिमा पनि उपयोगी हुने भएकोले पश्चिम एशिया क्षेत्रमा रहनुभएका सबै नेपाली आमा, बुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई समय मिलाएर आफ्नो विवरण दर्ता गर्नुहुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।

३. पश्चिम एशियास्थित कतिपय नेपाली नियोगहरुले ती मुलुकहरुमा ट्रान्जिटमा रहेका र अत्यावश्यक परी नेपाल आउनुपर्ने अवस्था भएका नेपालीहरुलाई यात्रा सहजीकरणका लागि सम्बन्धित एयरलाइन्स र सरकारी निकायहरुसँग समन्वय गरिरहेका छन् ।

४. यस विषम परिस्थितिमा पश्चिम एशिया क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकहरूलाई अत्यन्त संयमित, सचेत र सजग रहन र कानूनविपरीत कुनै किसिमका फोटो, भिडियो तथा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदान-प्रदान गर्ने कार्य नगर्नु हुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ।

५. प्रभावित क्षेत्रमा रहनुभएका कुनै नेपाली नागरिकहरूलाई कुनै समस्या आइपरेमा मन्त्रालयको आपतकाल नियन्त्रण कक्ष (Emergency Control Room) का टेलिफोन नम्बरहरू वा इमेल र सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमा तुरुन्त सम्पर्क गर्न सक्नुहुनेछ।

परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८२ फागुन २८

Ministry of Foreign Affairs of Nepal published this content on March 12, 2026, and is solely responsible for the information contained herein. Distributed via Public Technologies (PUBT), unedited and unaltered, on March 12, 2026 at 15:00 UTC. If you believe the information included in the content is inaccurate or outdated and requires editing or removal, please contact us at [email protected]